फिफा विश्वकप २०२६: फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा प्रवेश

गएराति अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्समाथि २-० को सानदार जित दर्ता गरेको छ। यो जितसँगै स्पेन सन् २०१० मा विश्वकप जितेयता पहिलो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गर्न सफल भएको छ। उपाधि दाबेदार मानिएको फ्रान्सको भने यस पराजयसँगै विश्वकप यात्रा सेमिफाइनलमै टुङ्गिएको छ।

​ खेलको सुरुवातदेखि नै स्पेनले आक्रामक र नियन्त्रित फुटबल प्रदर्शन गरेको थियो। खेलको पहिलो गोल स्पेनका युवा स्टार लामिन यामालको चलाखीपूर्ण मुभका कारण सम्भव भयो, जसमा फ्रान्सेली डिफेन्डर लुकास डिग्नेले बक्सभित्र फल गरेपछि स्पेनले पेनाल्टीको अवसर पायो। उक्त पेनाल्टीलाई मिकेल ओयार्जाबालले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै खेलको सुरुवातमै स्पेनलाई अग्रता दिलाए। त्यसको केही बेरमै पेड्रो पोर्रोले ड्यानी ओल्मोसँग उत्कृष्ट ‘वान-टु’ पास खेल्दै बक्सको तल्लो कुनाबाट आकर्षक गोल थपेर स्पेनको अग्रता दोब्बर बनाए।

​ दोस्रो हाफमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेसहितका अग्रपंक्तिका खेलाडीहरूले खेलमा फर्कन निकै प्रयास गरे पनि स्पेनको अभेद्य रक्षापंक्ति र गोलकिपर उनाई सिमोनको उत्कृष्ट बचाउका अगाडि उनीहरूको केही लागेन। फ्रान्सले केही राम्रा अवसरहरू सिर्जना गरे पनि फिनिसिङमा चुकेको थियो। अब स्पेनले उपाधिका लागि आगामी आइतबार न्युयोर्क न्युजर्सी (मेटलाइफ) स्टेडियममा अर्जेन्टिना र इङ्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.