हेटौंडा । बागमती प्रदेश सरकारले अब आफ्ना नीति, योजना र बजेट निर्माण प्रक्रियामा बालबालिकाको आवाजलाई संस्थागत रूपमै समेट्ने भएको छ। राष्ट्रिय बाल सहभागिता दिवस २०८३ को अवसरमा विभिन्न बाल अधिकारवादी संघ-संस्थाहरूको संयुक्त पहलमा बुझाइएको सातबुँदे ज्ञापनपत्र ग्रहण गर्दै स्वास्थ्य तथा सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्री बादेले आगामी दिनमा प्रदेश बाल सञ्जाल गठन गरी निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गराइने उल्लेख गर्दै बागमती प्रदेश बालबालिकासम्बन्धी ऐन, २०७६ अनुसार काम भइरहेको र बालविवाह अन्त्यका लागि नयाँ नीति निर्माणको तयारी भइरहेको जानकारी समेत दिनुभयो।
नागरिक समाजका तर्फबाट राष्ट्रिय बाल पैरवी परिषद्, कन्सोर्टियम नेपाल र बाल कल्याण समाज मकवानपुरलगायतका संस्थाहरूले संयुक्त रूपमा बुझाएको उक्त ज्ञापनपत्रमा बालहिंसा र बालविवाह अन्त्यका लागि प्रभावकारी नीतिगत व्यवस्था गर्न जोडदार माग गरिएको छ। बाल कल्याण समाजका सचिव कमल फुयाल र परिषद् सदस्य अनिषा दाहालद्वारा हस्तान्तरण गरिएको ध्यानाकर्षण पत्रमा प्रदेश तहमा नीति तथा कानून निर्माण गर्दा बालबालिकाको समावेशी सहभागिता सुनिश्चित गर्नुपर्ने, सबैका लागि शिक्षाको अधिकार ग्यारेन्टी गरिनुपर्ने, तथा विद्यालयहरूमा अनिवार्य उजुरी पेटिकाको व्यवस्था गरिनुपर्ने जस्ता व्यावहारिक मुद्दाहरू समेटिएका छन्। साथै, स्थानीय तहका बाल क्लब तथा बाल सञ्जालहरूलाई आवश्यक सहयोग गर्दै सुदृढ बनाउन र बाल सहभागितामा आधारित लैङ्गिक रूपान्तरणकारी दृष्टिकोण लागू गर्नसमेत आग्रह गरिएको छ।
कार्यक्रममा मन्त्रालयका सचिव खुबिराम अधिकारीले बालबालिकासम्बन्धी नियमावली निर्माणको तयारी भइरहेको जानकारी दिँदै सरकारी र गैरसरकारी क्षेत्रबीचको बलियो सहकार्यमा जोड दिनुभयो भने प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडाले बालबालिकाका विचारलाई नीति र बजेटमा उचित महत्त्व दिन समिति सक्रिय रहेको बताउनुभयो। वि.सं. २०५८ साउन २५ गते सर्वोच्च अदालतले बालबालिकाको संगठित हुन पाउने अधिकारलाई मौलिक अधिकारका रूपमा व्याख्या गरेको ऐतिहासिक फैसलाको स्मरणमा यो दिवस मनाइएको हो। सो अवसरमा हिमराइट्स, इस्थर बेन्जामिन स्मृति संस्था, इन्सेक, सिविन नेपाल तथा हेटौंडा नगर बाल समूह सञ्जालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसले बाल अधिकार संरक्षणका लागि सामूहिक प्रतिबद्धतालाई थप बलियो बनाएको छ।








