स्ववियु हेटौंडा क्याम्पसको आयोजनामा निःशुल्क आँखा शिविर: १९० विद्यार्थीले लिए प्रत्यक्ष सेवा

हेटौंडा। विद्यार्थीहरूको स्वास्थ्यप्रति संवेदनशीलता दर्शाउँदै हेटौंडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले एक दिवसीय निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। पछिल्लो समय डिजिटल उपकरणहरूको अत्यधिक प्रयोग र निरन्तरको अध्ययनका कारण विद्यार्थीहरूमा आँखासम्बन्धी समस्या बढ्दै गएकाले समयमै स्वास्थ्य सचेतना जगाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो।

​स्ववियु कार्यवाहक अध्यक्ष भरतमोहन देवकोटाको सभाध्यक्षतामा सम्पन्न उक्त शिविरमा क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धर प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला संयोजक नवराज शर्मा तथा क्याम्पस सहायक प्रमुख डा. लीलानाथ ढुंगेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी, अतिथिका रूपमा अनेरास्ववियु हेटौंडा नगर संयोजक रिजन जिसी र नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईंको उपस्थिति रहेको थियो। कार्यक्रमको औपचारिक सञ्चालन स्ववियु सदस्य नितेश भण्डारीले गर्नुभएको थियो।

​शिविरमा तिलगंगा आँखा अस्पताल, हेटौंडाका प्राविधिक शर्मिला बजगाईं र उमा महतले क्याम्पसमा अध्ययनरत १९० जना विद्यार्थीहरूको नि:शुल्क आँखा परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो। परीक्षणका क्रममा दृष्टिमा समस्या देखिएका २० जना विद्यार्थीहरूलाई चिकित्सकको परामर्श अनुसार चस्मा प्रयोगका लागि सिफारिस गरिएको छ भने अन्य सहभागीहरूलाई आँखाको हेरचाह र सम्भावित जोखिमबाट जोगिने उपायहरूबारे स्वास्थ्य सचेतना प्रदान गरियो।

​स्ववियु हेटौंडा क्याम्पसले कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण चिकित्सक, प्राविधिक टोली, क्याम्पस परिवार, स्वयम्सेवक एवम् विद्यार्थीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै नियमित रूपमा आँखा जाँच गराउन सम्पूर्णमा अपील पनि गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.