हेटौंडा । भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा जारी ऐतिहासिक ८० औं इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा नेपाली टोली हेटौंडा फुटबल एकेडेमी उपाधिको ‘ह्याट्रिक’ गर्ने लक्ष्यसहित फाइनल प्रवेशका लागि मंगलबार मैदान उत्रिँदैछ । मुनसोङ स्पोर्ट्स एशोसिएसन क्लबद्वारा आयोजित प्रतियोगिताको साविक विजेता समेत रहेको हेटौंडाले फाइनल यात्रा तय गर्न लाङ्गजिङ्ग ब्वाइजको सामना गर्नेछ । सोमबार भएको सेमिफाइनल खेलमा फारम ब्वाइजलाई ८-१ को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै हेटौंडाले उपाधि नजिक पुग्ने आफ्नो बलियो सम्भावना प्रस्तुत गरेको हो । कालिम्पोङ जिल्लाको मुनसोङ खेल मैदानमा दिउँसो २ बजेबाट सुरु हुने यो रोमाञ्चक भिडन्तमा हेटौंडाको दाबेदारी निकै बलियो देखिएको छ ।
विगत तीन वर्षदेखि यस प्रतियोगितामा निरन्तर बलियो उपस्थिति जनाउँदै आएको हेटौंडा फुटबल एकेडेमीको इतिहास भारतीय भूमिमा निकै सुखद र गौरवपूर्ण रहेको छ । आफ्नो सहभागिताको पहिलो वर्ष उपविजेता बनेको हेटौंडाले त्यसपछिका दोस्रो र तेस्रो वर्ष लगातार ट्रफी उचालेर मुनसोङको मैदानमा आफ्नो एकलौटी दबदबा कायम गरेको थियो । जारी संस्करणमा पनि टोलीले निकै आक्रामक र एकपक्षीय खेल प्रदर्शन गरिरहेको छ । प्रतियोगिताको सुरुवाती खेलमै सिक्किमको माम्रिङ व्वाइजलाई ८-१ ले पन्छाएको हेटौंडाले अर्को खेलमा हाइल्याण्डर वारियरविरुद्ध गोलको वर्षा गर्दै १३-२ को विशाल अन्तरको जित दर्ता गरेको थियो । टिम म्यानेजर छिरिङ लामाका अनुसार टोलीको उच्च मनोबलकै कारण मंगलबार मुनसोङको खेल लगत्तै हेटौंडाले पाक्योङ जिल्लामा हुने अर्को फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रतिस्पर्धा गर्दैछ ।
गत अगष्ट २६ बाट सुरु भएको र कुल ३२ टोलीको सहभागिता रहेको यस प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल इन्डिपेन्डेन्स डे को दिन विशेष समारोहका बीच आयोजना हुनेछ । आयोजक मुनसोङ स्पोर्ट्स एशोसिएसनले यस वर्षबाट पुरस्कार राशिमा आकर्षक वृद्धि गरेपछि प्रतियोगिता थप प्रतिष्पर्धात्मक बनेको हो, जसअन्तर्गत उपाधि विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरूका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको यस प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीले यसपटक पनि उपाधि रक्षा गर्दै लगातार तेस्रो पटक च्याम्पियन बन्ने इतिहास रच्नेमा नेपाली खेलप्रेमीहरू निकै उत्साहित देखिएका छन् ।








