विवादको घेरामा ‘मास्टर्नी’ को प्रमोसन: कला कि सस्तो चर्चा कमाउने हत्कन्डा?

काठमाडौं ।
चलचित्र र गीत–संगीत क्षेत्रमा सस्तो लोकप्रियता र प्रचारका लागि विवादित विषयवस्तुको सहारा लिने प्रवृत्ति नयाँ होइन । यसै क्रममा अभिनेत्री प्रियंका कार्कीको निर्माणमा बन्न लागेको आगामी चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीत अहिले तीव्र विवादमा तानिएको छ । गायक दुर्गेश थापाको शब्द र संगीत रहेको यस गीतमा प्रयोग गरिएका ‘डबल मिनिङ’ (द्विअर्थी) शब्दहरूले कलाको नाममा सामाजिक बेथिती र अपाच्य संस्कृतिलाई बढावा दिएको भन्दै सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ । युट्युबको कमेन्ट बक्सदेखि विभिन्न प्लेटफर्महरूमा हजारौँ प्रयोगकर्ताले शिक्षण जस्तो मर्यादित पेसालाई गिज्याउने गरी ल्याइएको यस्ता शब्दावलीप्रति कडा आपत्ति जनाएका छन् ।

​तर, यो विवादको अर्को पाटो झनै रोचक छ— वास्तवमा यो गीत चलचित्रभित्र समावेश नै छैन । यो केवल चलचित्रको हाइप क्रिएट गर्न र दर्शकको ध्यान तान्नका लागि रचिएको एउटा रणनीतिक ‘उपहार’ मात्र हो, जसलाई लिएर दुर्गेश र प्रियंका स्वयं फिल्मको प्रचारप्रसारमा सँगै हिँड्ने तयारीमा छन् । गीत सार्वजनिक कार्यक्रममा उठेका प्रश्नहरूलाई पन्छाउँदै दुर्गेशले ‘आफ्नो सोच र सुनाइ खराब भए मात्र गीत खराब सुनिने’ दाबी गरे पनि यसले गम्भीर नैतिक प्रश्न खडा गरेको छ । फिल्मको प्रवर्द्धनका लागि कलाको मर्यादा र समाजको संवेदनशीलतालाई दाउमा राखेर गरिने यस्ता हत्कन्डाहरू कत्तिको न्यायसंगत छन् भन्ने बहस यसले निम्त्याएको छ ।

​यसैबीच, यो विवादमा चलचित्रकर्मी तथा बौद्धिक वृत्तबाट पनि तिखो टिप्पणी आउन थालेका छन् । सञ्चारकर्मी तथा चलचित्र निर्देशक प्रकाश सायमीले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गर्दै कलाकारको पारिवारिक तहबाटै यस्ता भद्दा कलालाई पचाइसकिएकाले बाहिरका मान्छेले टाउको दुखाइरहनुको अर्थ नभएको आशय व्यक्त गरेका छन् । बहुचर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ पछि दुर्गेश र प्रियंकाको यो दोस्रो सहकार्य हो । मनोरञ्जनका नाममा जे पनि पस्कने र त्यसलाई व्यावसायिक स्वार्थका लागि प्रयोग गर्ने यो शैलीले नेपाली सिने उद्योगको प्रवर्द्धन शैली र सामाजिक उत्तरदायित्वमाथि फेरि एकपटक ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.