काठमाडौँ। चर्चित नेपथ्य ब्यान्डका गायक अमृत गुरुङले तराई-मधेशको वर्तमान परिस्थितिलाई गम्भीरतापूर्वक लिन सरकार र राजनीतिक नेतृत्वसँग जोडदार माग गरेका छन्। हालैका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत सरकार तथा सत्ता निकट राजनीतिज्ञहरूलाई तराई-मधेशको परिस्थितिलाई हलुका रूपमा नलिन चेतावनीसहित आग्रह गरेका हुन्।
गायक गुरुङले विगतका अनुभवहरूबाट पाठ सिक्न आग्रह गर्दै तत्काल पूर्वसुरक्षाकर्मी तथा प्रशासकहरूसँग परामर्श लिन सुझाव दिएका छन्। माओवादी द्वन्द्वकाल र मधेस आन्दोलनका बेला प्रत्यक्ष रूपमा समस्यासँग जुधेका नेता, नेपाल प्रहरी, नेपाली सेना र प्रशासकहरूसँग सरकारले गहन छलफल गर्नुपर्ने उनको भनाइ छ। उनले २०-२५ वर्ष अघिका घटनाक्रमहरूलाई ध्यानपूर्वक अध्ययन गरेर मात्र अगाडि बढ्न सरकारलाई सल्लाह दिएका छन्।
विगतमा आफूले भ्रमण गरेको मधेशको स्थिति र अनुभव अझै ताजा रहेको स्मरण गर्दै उनले मुलुकमा फेरि त्यस्तो अप्रिय अवस्था नदोहोरियोस् भन्ने कामना समेत गरेका छन्। तराई-मधेशमा देखा परेको पछिल्लो तनाव र असमझदारीलाई बेलैमा सम्बोधन नगरे स्थिति थप जटिल बन्न सक्ने संकेत गर्दै गुरुङले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न अप्रत्यक्ष रूपमा अपिल गरेका छन्।









