हेटौँडा, ६ साउन ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ स्थित मोहन बज्राचार्य आधारभूत स्वास्थ्य केन्द्रमा मधुमेह (डायबिटिज) का बिरामीहरूलाई लक्षित गरी निःशुल्क आँखा तथा पर्दा (रेटिना) जाँच शिविर आयोजना गरिएको छ। हेटौँडा-४ वडा कार्यालयको आयोजना तथा मोहन बज्राचार्य आधारभूत स्वास्थ्य केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको शिविरमा बिहानैदेखि स्थानीय सेवाग्राहीहरूको उपस्थिति रहेको छ।

विशेषगरी मधुमेह भएका व्यक्तिहरूमा पछि गएर आँखाको पर्दामा गम्भीर समस्या (डायबिटिक रेटिनोप्याथी) देखिने जोखिम रहने भएकाले समयमै त्यसको पहिचान र रोकथाम गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। शिविरमा हेटौँडा सामुदायिक आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको छ भने ‘क्योर ब्लाइन्ड्नेस प्रोजेक्ट’ (Cure Blindness Project) को समेत सहयोग रहेको छ। बिहान ९:०० बजेदेखि सुरु भएको शिविरमा विशेषज्ञ टोलीले आधुनिक उपकरणमार्फत सेवाग्राहीहरूको आँखा जाँच तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिरहेका छन्।

स्थानीय स्तरमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। दिउँसो ३:०० बजेसम्म सञ्चालन हुने उक्त शिविरमा मध्यान्नसम्म करिब ४० जनाले आँखा जाँच गराइसकेका छन्। आयोजकले बाँकी समयमा पनि मधुमेहका अन्य बिरामीहरूलाई शिविरमा उपस्थित भई निःशुल्क सेवाको लाभ लिन आह्वान गरेको छ।








