सामाजिक सञ्जालमा लाञ्छना लगाउने रास्वपा समर्थक अधिकारीद्वारा प्रहरी कार्यालय पुगेर क्षमायाचना

हेटौंडा / सामाजिक सञ्जालको दुरुपयोग गरी राजनीतिक व्यक्तित्वहरूमाथि मनगढन्ते र भ्रामक आरोप लगाउने प्रवृत्ति बढिरहेका बेला हेटौंडामा एक रोचक दृष्टान्त सार्वजनिक भएको छ। फेसबुकमार्फत नेकपा एमालेका शीर्ष नेता तथा स्थानीय जनप्रतिनिधिलाई विनाआधार ‘भ्रष्टाचारी’ भन्दै आपत्तिजनक पोस्ट गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक बैकुण्ठ अधिकारी (बिबास) कानुनी कारबाहीको घेरामा पर्ने भएपछि अन्ततः प्रहरी कार्यालय पुगेर क्षमायाचना गर्न बाध्य भएका छन्। रौतहटको चन्द्रपुर–४ स्थायी घर भई हाल हेटौंडा–४ कमलडाँडा बस्दै आएका उनले वडा प्रहरी कार्यालय हुप्राचौरमा आयोजित छलफलमा आफ्ना अभिव्यक्तिप्रति पूर्ण गल्ती स्वीकार गर्दै लिखित प्रतिबद्धता जनाएका हुन्।

​बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको तस्बिर राखेर एमाले नेता–कार्यकर्तामाथि आवेगमा आई लाञ्छना लगाएको स्वीकार गर्दै अधिकारीले आगामी दिनमा कुनै पनि दल वा जनप्रतिनिधिको मानमर्दन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वडा अध्यक्ष सिग्देलको समेत उपस्थितिमा भएको छलफलपछि अधिकारीले आफ्नै फेसबुक पेजमार्फत पनि सार्वजनिक रूपमा माफी माग्दै अभिव्यक्ति फिर्ता लिएका छन्। कानुनी प्रक्रिया र मानहानिको मुद्दा झेल्नुपर्ने जोखिम बढेपछि उनले सामाजिक सञ्जालमा देखिने अराजक अभिव्यक्ति र भ्रामक प्रचारले व्यक्ति र संस्थाको प्रतिष्ठामा पार्ने गम्भीर असरबारे आफू सचेत भएको बताएका छन्।

​पछिल्लो समय सामाजिक सञ्जाललाई बिनाप्रमाण अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको चरित्र हत्या गर्ने माध्यम बनाउने होडबाजी चलिरहेका बेला यो घटनाले प्रयोगकर्ताहरूलाई संयमित हुन बलियो सन्देश दिएको छ। ‘अरूलाई घोच्नु र सामाजिक सञ्जालमा लेख्नु अघि पटक–पटक सोच्नुपर्छ’ भन्ने पाठ सिकाउँदै यस घटनाले राजनीतिक वैचारिक भिन्नतालाई मर्यादित ढङ्गले प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याएको छ। कानुनी कारबाहीको चेतावनीपछि मात्र सम्हालिएका अधिकारीको यो क्षमायाचनाले सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोग गर्नेहरूका लागि एक चेतावनी र पाठको रूपमा काम गर्ने देखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.