काठमाडौँ — प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहणसँगै दुई छिमेकी मुलुकहरूसँगको कूटनीतिक सम्बन्धलाई तीव्रता दिएका छन्। सोही क्रममा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम झाङ माओमिङ र भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शाहसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्। एकै दिन दुवै छिमेकी मुलुकका प्रतिनिधिहरूसँग भएको यो भेटलाई नेपालको सन्तुलित वैदेशिक नीतिको निरन्तरता र उच्च कूटनीतिक सक्रियताका रूपमा हेरिएको छ।
चिनियाँ राजदूत झाङ माओमिङसँगको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र साझा हितका विषयमा सहकार्य बढाउनेबारे फलदायी छलफल भएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले चीनसँगको परापूर्वकालदेखिको सम्बन्धलाई थप उचाइमा पुर्याउँदै विकास साझेदारी, वैदेशिक सहयोग प्रवर्द्धन र बहुआयामिक क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा विशेष जोड दिएका थिए।
भेटवार्तामा चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई नयाँ कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल-चीन सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ, प्रगाढ र उपलब्धिमूलक बनाउन चीन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सोही दिन भारतीय राजदूत श्रीवास्तवसँग पनि द्विपक्षीय हित र सहकार्यका विषयमा सकारात्मक कुराकानी भएको थियो।








