काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका हालैका हिंसात्मक घटना, नागरिकको मृत्यु तथा राज्य पक्षबाट भएको बल प्रयोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावका क्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहामा गणेश यादव लगायतका नागरिकको गोली लागेर भएको दुःखद निधनप्रति उहाँले स्तब्ध र मर्माहत भएको बताउनुभएको छ। अध्यक्ष ओलीले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुकको यो जटिल र संवेदनशील घडीमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालाहरूलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ। जनतालाई आपसमा विभाजित गर्ने षड्यन्त्र हुन सक्ने भएकाले कुनै पनि भ्रामक प्रचारको पछि नलाग्न उहाँले आग्रह गर्नुभएको छ। साथै, द्वन्द्व र हिंसाले समस्याको समाधान नहुने स्पष्ट पार्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाटै विद्यमान जटिलताको निकास खोज्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
नागरिकको जीउधनको रक्षा गर्नु सरकारको प्राथमिक दायित्व भए पनि राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था सङ्कटमा पर्दा समेत सरकार उदासीन र मौन बसेको भन्दै अध्यक्ष ओलीले कडा भर्त्सना गर्नुभएको छ। अत्यधिक बल प्रयोग र हिंसात्मक कदम तत्काल रोकेर अविलम्ब संवादमार्फत समाधान खोज्न सरकारसँग माग गर्दै उहाँले यस्तो विषम परिस्थितिमा मुख्य राजनीतिक दलहरूलाई सस्तो लोकप्रियता र आरोप-प्रत्यारोपभन्दा माथि उठ्न आग्रह गर्नुभएको छ। उहाँले राष्ट्रिय हित, शान्ति-सुरक्षा र सामाजिक सद्भाव रक्षाका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरूलाई एकजुट हुन समेत आह्वान गर्नुभएको छ।









