सुनसरी र सिरहा घटनाप्रति एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण: सरकारको मौनताप्रति भर्त्सना, संयमता र सद्भावका लागि अपिल

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका हालैका हिंसात्मक घटना, नागरिकको मृत्यु तथा राज्य पक्षबाट भएको बल प्रयोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावका क्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहामा गणेश यादव लगायतका नागरिकको गोली लागेर भएको दुःखद निधनप्रति उहाँले स्तब्ध र मर्माहत भएको बताउनुभएको छ। अध्यक्ष ओलीले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

​सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुकको यो जटिल र संवेदनशील घडीमा सम्पूर्ण नागरिक, राजनीतिक दल तथा सरोकारवालाहरूलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ। जनतालाई आपसमा विभाजित गर्ने षड्यन्त्र हुन सक्ने भएकाले कुनै पनि भ्रामक प्रचारको पछि नलाग्न उहाँले आग्रह गर्नुभएको छ। साथै, द्वन्द्व र हिंसाले समस्याको समाधान नहुने स्पष्ट पार्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाटै विद्यमान जटिलताको निकास खोज्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

​नागरिकको जीउधनको रक्षा गर्नु सरकारको प्राथमिक दायित्व भए पनि राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था सङ्कटमा पर्दा समेत सरकार उदासीन र मौन बसेको भन्दै अध्यक्ष ओलीले कडा भर्त्सना गर्नुभएको छ। अत्यधिक बल प्रयोग र हिंसात्मक कदम तत्काल रोकेर अविलम्ब संवादमार्फत समाधान खोज्न सरकारसँग माग गर्दै उहाँले यस्तो विषम परिस्थितिमा मुख्य राजनीतिक दलहरूलाई सस्तो लोकप्रियता र आरोप-प्रत्यारोपभन्दा माथि उठ्न आग्रह गर्नुभएको छ। उहाँले राष्ट्रिय हित, शान्ति-सुरक्षा र सामाजिक सद्भाव रक्षाका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरूलाई एकजुट हुन समेत आह्वान गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.