हेटौंडा, श्रावण १७ ।
शारीरिक सुगठन र स्वास्थ्यका लागि सँगै पसिना बगाउने एउटा समूह जब सामाजिक उत्तरदायित्वमा जोडिन्छ, तब समाजमा छुट्टै उत्साह थपिन्छ। यस्तै उदाहरणीय कार्य गर्दै हेटौंडा–९ मा रहेको पशुपतिनगर हेल्थ क्लबले आफ्नो नियमित अभ्यासलाई केवल चौर मात्र सीमित नराखी सेवाको भावमा रूपान्तरण गरेको छ। क्लबमा आबद्ध जुम्बा परिवारका सदस्यहरूले शनिबार हेटौंडा–१५ स्थित दिव्य सेवा निकेतन पुगेर त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूसँग आत्मियता बाँड्दै विशेष समय बिताएका छन्।

ज्येष्ठ नागरिकहरूको मुहारमा खुसी ल्याउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा निकेतनमा रहेका वृद्धवृद्धा बुवा-आमाहरूलाई एक छाक भोजन गराइएको थियो। साथै, श्रावण महिनाको विशेष अवसरलाई ध्यानमा राख्दै उपस्थित आमाहरूलाई साउने उपहारस्वरूप चुरा र टीका वितरण गरिएको थियो। हेल्थ क्लबका सदस्यहरू आफैं अघि सरेर चुरा र टीका लगाइदिँदा निकेतन परिसरमा एक किसिमको पारिवारिक र उल्लासमय वातावरण सिर्जना भएको थियो।

पशुपतिनगर हेल्थ क्लबका अध्यक्ष श्री प्रचण्ड प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जुम्बा परिवारका सदस्यहरूसहित करिब १०० जनाको उत्साहजनक सहभागिता रहेको थियो। केवल शारीरिक स्वस्थतामा मात्र केन्द्रित नभई समाजका असहाय र ज्येष्ठ नागरिकप्रतिको सम्मान एवं समर्पण भावले यस्ता कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने आयोजकले जनाएको छ।










