जननेता मदन भण्डारीको वैचारिक मार्गचित्र ‘जबज’ माथि मकवानपुरमा बौद्धिक छलफल

हेटौँडा । मदन भण्डारी ७५औँ हीरक जयन्ती समारोह समितिका संयोजक एवं बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) केवल सैद्धान्तिक दस्तावेज नभई समाज परिवर्तनको गतिशील जनमार्ग भएको बताउनुभएको छ। मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरद्वारा हीरक जयन्ती वर्ष २०८३ अन्तर्गत आइतबार हेटौँडामा आयोजित ‘जबजमा अन्तर्निहित गतिशीलता’ विषयक विचार गोष्ठीलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पौडेलले उक्त कुरा बताउनुभएको हो। फाउन्डेसन जिल्ला शाखा अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य रामेश्वर रानाले मदन भण्डारीको वैचारिक दूरदर्शिता र यसको व्यावहारिक प्रयोगबारे मन्तव्य व्यक्त गर्नुभएको थियो।

​कार्यक्रममा नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद् केदार न्यौपाने, संविधानसभा सदस्य अनन्त प्रसाद पौडेल, नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देल र मदन भण्डारी फाउन्डेसन बागमती प्रदेश कमिटी सदस्य गोपालबहादुर श्रेष्ठका साथै नेकपा एमालेका प्रदेश तथा जिल्ला तहका नेताहरूको विशेष आतिथ्यता रहेको थियो। गोष्ठीमा मकवानपुर बहुमुखी क्याम्पसका डा. प्राध्यापक घनश्याम घिमिरेले ‘जबजमा अन्तर्निहित गतिशीलता’ विषयमा खोजमूलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

​उक्त कार्यपत्रमाथि समाजशास्त्रीय तथा राजनीतिक दृष्टिकोणबाट बहुआयामिक समीक्षा गरिएको थियो। कार्यपत्रमाथि टिप्पणी गर्दै समाजसेवी एवं बुद्धिजीवी रमेश लामिछाने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डिन डा. इन्दिरा अधिकारी र नेपाली काङ्ग्रेस मकवानपुरका नेता रामचन्द्र अर्याल ‘माइकल’ ले जबजको लोकतान्त्रिक पक्ष, सामाजिक रूपान्तरण र समकालीन राजनीतिमा यसको सान्दर्भिकताबारे आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो। सो क्रममा उपस्थित सहभागीहरूले समेत कार्यपत्रमाथि चासो व्यक्त गर्दै विभिन्न जिज्ञासा र प्रश्नहरू राखेका थिए।

​जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा वर्षभरि सञ्चालन गरिने १३ वटा विशेष कार्यक्रमहरूको शृङ्खलाअन्तर्गत साउन महिनाको यो वैचारिक बहस तथा मन्थन कार्यक्रम सफलताका साथ सम्पन्न भएको फाउन्डेसनले जनाएको छ। फाउन्डेसन मकवानपुरले हीरक जयन्ती वर्षभरि नै यस्ता समाजोपयोगी, रचनात्मक र वैचारिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.