मकवानपुरमा एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी विरुद्ध विद्यार्थी सङ्गठनको चेतावनी: माग सम्बोधन नभए कडा आन्दोलन गर्ने

हेटौँडा। बजारमा एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौँडा उपमहानगरपालिका कमिटीले जिल्ला प्रशासन कार्यालय, मकवानपुरको ध्यान आकृष्ट गराएको छ। अनेरास्ववियुका नगर संयोजक रिजन जिसीको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै सर्वसाधारण, विद्यार्थी, श्रमिक तथा व्यवसायीहरू ग्यासको अभावमा सास्ती भोग्न बाध्य भएको जनाएको छ। बजारमा अस्वाभाविक मौज्दात राख्ने र बढी मूल्य असुलेर उपभोक्तामाथि अन्याय गर्ने प्रवृत्ति बढेकाले तत्काल प्रभावकारी कदम चाल्न सङ्गठनले स्थानीय प्रशासनसँग माग गरेको छ।

​ध्यानाकर्षण पत्रमार्फत अनेरास्ववियुले ग्यासको सहज, नियमित र पर्याप्त आपूर्तिको व्यवस्था मिलाउन, अनुगमन तीव्र पारी कालोबजारी गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्न, तथा वितरण प्रणालीलाई पारदर्शी र उपभोक्तामैत्री बनाउन चारबुँदे माग अघि सारेको छ। सर्वसाधारणको भान्सा र दैनिक जीवनसँग सीधा जोडिएको ग्यासजस्तो अत्यावश्यक वस्तुको सहज उपलब्धता सुनिश्चित गर्नु राज्य र स्थानीय प्रशासनको दायित्व भएको भन्दै सङ्गठनले बजार अनुगमनलाई औपचारिकतामा मात्र सीमित नराख्न आग्रह गरेको छ।

​प्रशासनले यी गम्भीर मागहरूलाई बेवास्ता गरेमा वा बजारमा व्याप्त अनियमितता नियन्त्रण नगरेमा आम उपभोक्ताको हकहितका लागि कडा सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत विद्यार्थी सङ्गठनले दिएको छ। अनेरास्ववियुले जुनसुकै समयमा पनि सर्वसाधारण तथा विद्यार्थीका समस्यामा निरन्तर खबरदारी गर्ने र आम नागरिकको अधिकारका लागि अग्रपङ्क्तिमा रहेर आवाज उठाइरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.