हेटौँडा । मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरको आयोजनामा आगामी साउन १७ गते आइतबार हेटौँडामा ‘जनताको बहुदलीय जनवाद (जबज) मा अन्तर्निहित गतिशीलता’ विषयक विचार गोष्ठी हुने भएको छ। मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापक घनश्याम घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ। फाउन्डेसन जिल्ला शाखा अध्यक्ष रघुनाथ खुलालको सभाध्यक्षता एवं बागमती प्रदेश सदस्य गोपालबहादुर श्रेष्ठको आतिथ्यतामा आज सम्पन्न बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो।

गोष्ठीमा प्रस्तुत हुने कार्यपत्रमाथि विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा सामाजिक क्षेत्रका अगुवाहरूबीच विस्तृत छलफल गराइनेछ। जननेता मदन भण्डारीको विचार र ‘जबज’ को वैचारिक पाटोलाई बहुआयामिक दृष्टिकोणबाट विश्लेषण गर्दै आम जनमानसमा पुर्याउने लक्ष्यका साथ यो कार्यक्रम तय गरिएको फाउन्डेसनले जनाएको छ।

उक्त विचार गोष्ठी जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मनाइँदै गरिएको ‘हीरक जयन्ती वर्ष २०८३’ को प्रत्येक महिना कार्यक्रम गर्ने शृङ्खलाअन्तर्गत आयोजना हुन लागेको हो। फाउन्डेसनले २०८३ असार १४ देखि २०८४ असार १४ सम्म वर्षभरि राजनीतिक बहस, सामाजिक र रचनात्मक गरी १३ वटा विशेष कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका बनाएको छ। फाउन्डेसनले हीरक जयन्ती वर्षका सम्पूर्ण कार्यक्रमहरू सफल पार्न आम सञ्चारमाध्यम, सामाजिक अभियन्ता र नगरवासीहरूमा सहयोगको अपिलसमेत गरेको छ।









