हेटौँडा,।
बागमती प्रदेशकै आफ्नै विश्वविद्यालयका रूपमा स्थापित बागमती विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि औपचारिक रूपमा पठनपाठन सुरु गरेको छ । विश्वविद्यालयको आंगिक क्याम्पस बनेको हेटौँडा क्याम्पसमा बिहीबार आयोजित एक विशेष समारोहका बीच स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गरिएको छ । प्रदेशको एकल अधिकार क्षेत्रभित्र रहेर व्यावसायिक र पेशागत उच्च शिक्षा दिने लक्ष्यसहित स्थापना भएको यस विश्वविद्यालयले पहिलोपटक विद्यार्थीहरूलाई शैक्षिक मार्गनिर्देशन गराएको हो ।
यस शैक्षिक सत्रदेखि हेटौँडा क्याम्पसमा समयसापेक्ष र बजारको मागअनुसारका प्राविधिक तथा व्यावसायिक विषयहरूको अध्यापन सुरु गरिएको छ । क्याम्पसमा अब स्नातक तहतर्फ बिएड, बिएएलएलबी, बिबिए, बिआइटी र बिएचएम जस्ता महत्वपूर्ण विधाहरू सञ्चालनमा आएका छन् । अभिमुखीकरण कार्यक्रममा विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले नयाँ संविधानले मार्गप्रशस्त गरेको उच्च शिक्षाको प्रादेशिक अधिकारलाई व्यवहारमा उतार्न विश्वविद्यालय सफल भएको बताउनुभयो । उहाँले गुणस्तरीय र व्यावहारिक शिक्षा नै आफूहरूको मुख्य प्राथमिकता रहेको प्रष्ट पार्नुभयो ।
हेटौँडा क्याम्पस बागमती विश्वविद्यालयको आंगिक संरचनामा रूपान्तरण भएसँगै यस क्षेत्रको शैक्षिक परिदृश्यमा नयाँ सम्भावनाका ढोकाहरू खुलेका छन् । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आनन्दराम पराजुलीले क्याम्पसलाई देशकै अब्बल शैक्षिक गन्तव्य बनाउन प्राध्यापक र विद्यार्थी दुवै उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । यस्तै, क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरले विद्यार्थीहरूलाई अनुशासित र लगनशील भएर अध्ययन गर्न आग्रह गर्दै क्याम्पसले शिक्षण सिकाइको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्नातक तह दोस्रो वर्षका विद्यार्थी र क्याम्पस प्रशासनको संयुक्त आयोजनामा भएको उक्त स्वागत कार्यक्रममा विभिन्न सरोकारवालाहरूले ऐक्यबद्धता जनाएका थिए । कार्यक्रममा विषयगत संयोजकहरू डा. अमित मिश्र, फ्रान्सिस आचार्य, सुजन तिमल्सिना, बासु राजभण्डारी र डा. लिलानाथ ढुङ्गेल, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल तथा स्ववियु कावा सभापति भरत देवकोटाले नयाँ ब्याचका विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरू सुशीला तामाङ, अमृताकुमारी शाह, सविन दाहाल, यथार्थ बर्तौला र स्तुति कर्ण लगायतले नयाँ शैक्षिक यात्राको सफलताका लागि आफ्ना भनाइहरू राखेका थिए ।








