हेटौंडा – केन्द्रमा बदलिएको राजनीतिक समीकरणसँगै बागमती प्रदेश सरकारको भविष्य पनि संकटमा परेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी टुट्ने निश्चित भएसँगै प्रदेशमा नयाँ सरकार गठनका लागि जोडघटाउ सुरु भएको हो । हाल नेतृत्व गरिरहेको कांग्रेस आफ्नो सरकार टिकाउने दाउमा छ भने एमाले कम्युनिष्ट घटकहरूलाई समेटेर नयाँ गठबन्धन बनाउने रणनीतिमा लागेको छ । दुवै ठूला दलले सरकार गठनको निर्णायक चाबी बोकेको २६ सिटसहितको नेकपालाई फकाउन बिहीबारदेखि अनौपचारिक छलफल तीव्र पारेका छन् ।
कम्युनिष्ट कार्ड खेल्दै एमाले, सत्ता जोगाउन कांग्रेसको कसरत
गठबन्धन भत्किएसँगै एमालेले नेकपालाई ‘वाम गठबन्धन’को प्रस्ताव गर्दै नयाँ सरकारको गृहकार्य थालेको छ । पूर्वसहमति अनुसार सरकारको नेतृत्व नपाएपछि बिच्किएको एमाले जुनसुकै हालतमा कांग्रेसलाई सत्ताच्युत गर्न चाहन्छ । अर्कोतर्फ, कांग्रेस पनि २६ सिट भएको नेकपासँग मिलेर स्पष्ट बहुमत (६२ सिट) सहितको बलियो सरकार बनाउने योजनामा छ । नेकपा सांसद रत्नप्रसाद ढकालका अनुसार दुवै दलले सरकार गठनका लागि प्रस्ताव गरिसकेका छन्, तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंका भ्रमणबाट फर्किएपछि मात्रै यसबारे आधिकारिक निर्णय हुनेछ ।
नेतृत्वमा नेकपाकै दाबी, साना दल बन्न सक्छन् ‘किङ्मेकर’
नयाँ परिस्थितिमा नेकपा आफैंले बागमती प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ । केन्द्रमा कुनै निश्चित गठबन्धन नरहेकाले प्रदेशको आवश्यकता अनुसार निर्णय गरिने नेकपा नेताहरूको भनाइ छ । यदि एमाले र नेकपा मिलेर सरकार बनाउने हो भने उनीहरूको संयुक्त ५१ सिट मात्र पुग्छ, जुन बहुमतका लागि २ सिट अपुग हो । यस्तो अवस्थामा १२ सिट भएको राप्रपा, ३ सिट भएको नेमकिपा वा २ सिट भएको हाम्रो नेपाली पार्टी जस्ता साना दलहरू नयाँ सत्ता समीकरणमा निर्णायक ‘किङ्मेकर’ बन्ने देखिएको छ ।
राजनीतिक अस्थिरताको केन्द्र बन्दै बागमती
१०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्दछ । यसअघि कांग्रेस संसदीय दलभित्रकै आन्तरिक विवादका कारण २० महिने आलोपालोको सहमति तोड्दै शेरबहादुर देउवा पक्षका इन्द्रबहादुर बानियाँले बहादुरसिंह लामालाई हटाएर २० साउन २०८२ मा मुख्यमन्त्रीको कुर्सी सम्हालेका थिए । बजेट विवाद र पार्टीभित्रको आन्तरिक कलहले थलिएको बागमतीको राजनीतिमा अहिले आएर केन्द्रको परकम्प थपिँदा प्रदेश फेरि एकदा अस्थिरता र सत्ताको नयाँ खेलतर्फ धकेलिएको छ ।








