नेता थपलियाको स्वास्थ्यबारे भ्रामक समाचार फैलाइएको महेश बस्नेतको दाबी, तथ्यमा विश्वास गर्न आग्रह

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाको स्वास्थ्य अवस्था र पार्टीको आन्तरिक छलफललाई लिएर केही सञ्चारमाध्यमले भ्रामक तथा तोडमोड गरिएका समाचार सम्प्रेषण गरेको भन्दै कडा आपत्ति जनाउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलका क्रममा थपलिया भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता मात्रै देखिएको प्रस्ट पार्नुभएको छ। यस्तो अवस्थालाई अनावश्यक रूपमा अतिरञ्जित नगर्न र भ्रमको पछि नलाग्न उहाँले सबैमा हार्दिक अनुरोध गर्नुभएको छ।

​सचिव बस्नेतले आफ्नो स्टाटसमा बागमती प्रदेश सरकार निर्माणको विषयमा भइरहेको आन्तरिक तयारी र संवादबारे पनि विस्तृत जानकारी दिनुभएको छ। नेकपा (एमाले) र नेकपाबीच भएको सहमति अनुसार प्रदेशका सांसदहरू र पार्टी शीर्ष नेतृत्वबीच निरन्तर छलफल जारी रहेको उहाँको भनाइ छ। एमालेको पहिलो प्राथमिकता सहमतिमै पार्टीको नेतृत्वमा सरकार गठन गर्नु रहेको र सहमति जुट्न नसकेको अवस्थामा संसदीय दलको भावना तथा लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय लिइने उहाँले उल्लेख गर्नुभएको छ।

​प्रदेश सभाको अङ्कगणितबारे चर्चा गर्दै बस्नेतले एमाले र नेकपा मिल्दा पनि बहुमतका लागि अझै ३ सिट अपुग रहेको यथार्थ सार्वजनिक गर्नुभएको छ। सोही कारण सबै राजनीतिक पक्षहरूलाई समेटेर एउटा स्थायी र जिम्मेवार सरकार निर्माण गर्नका लागि पार्टी अध्यक्ष लगायत शीर्ष नेतृत्वले आवश्यक पहलकदमी र निर्देशन गरिरहनुभएको उहाँले स्टाटसमार्फत जानकारी दिनुभएको छ।

​बागमती प्रदेश सरकार निर्माणको सिङ्गो प्रक्रिया सहमति, लोकतान्त्रिक मूल्य-मान्यता र आवश्यक परे संसदीय प्रक्रियाअनुसार नै निष्कर्षमा पुग्ने बस्नेतको दाबी छ। मिडियामा आएका अनर्गल प्रचारको खण्डन गर्दै उहाँले फेसबुक स्टाटसको अन्त्यमा ‘अफवाहभन्दा तथ्यमा विश्वास गरौँ’ भन्दै सबैलाई संयमित हुन र आधिकारिक सूचनामा मात्र भरोसा गर्न अपिल गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.